काठमाडौं – मंगलबार नेप्से सूचक ४३.३५ अंकले घटेर २०६२.८० विन्दुमा झरेको हो। मंगलबार कारोबार रकम भने केहि बढेको छ। २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँ बराबरको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर कारोबार भएको छ।
केहि दिन यता शेयर बजार बढेको भए पनि पछिल्लो समय बजारमा पुनः गिरावट देखिन थालेको छ। साउन मशान्त नजिकिँदै गर्दा लगानीकर्तालाई ब्याजदर बढ्न सक्ने डरले पनि सताएको छ। त्यसले पनि बजारमा नकारात्मक प्रभाव देखिएको छ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । फाइनान्स, विकास बैंक हाइड्रोपावर र अन्य उपसमूहको सूचक बढी दबाबमा देखिएका छन्। यी सूचकहरु ३ प्रतिशतभन्दा धेरैले घटेका छन्।
उच्च अंकले घटेको बजारमा भर्खर सूचीकृत भएको हिमालयन हाइड्रोपावरको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ६.३६ प्रतिशत, युनिलिभर नेपालको ३.९५ प्रतिशत र गुडविल फाइनान्सको ३ प्रतिशतले बढेको छ।
यता, गणपति लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ७.२७ प्रतिशतले घटेको छ भने घलेम्दी हाइड्रोपावरको ६.६८ प्रतिशत पञ्चकन्या हाइड्रोपावरको ६.४९ प्रतिशत, न्यादी हाइड्रोको ६.४० प्रतिशत र मध्ये भोटेकोशी हाइड्रोपावरको ६.३१ प्रतिशतले घटेको छ।
मंगलबार नागरिक लगानी कोषको सबैभन्दा धेरै १५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १३ करोड, हिमालयन डिस्टिलरीको १० करोड ७८ लाख र नबिल बैंकको १० करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।







