काठमाडौं- नेपाल आयल निगमले मट्टीतेल बिक्री–वितरणलाई व्यवस्थित बनाउन पैँतीसदिने सूचना जारी गरेको छ । हाल बिक्री–वितरण गरिरहेका बिक्रेताहरुले पनि पुनः निगममा प्रमाण पेस गनुपर्ने छ ।
सोमबार एक सूचना प्रकाशित गर्दै मट्टीतेल बिक्रेतालाई पैँतीस दिनभित्र तोकिएबमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
“तोकिएको समयभित्र तोकिएको मापदण्ड पूरा गरी सम्पर्क गर्न नआउने मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,” सूचनामा भनिएको छ ।
तत्कालीन अवस्थामा मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी नियुक्ति पाएका मट्टीतेल बिक्रेताले हाल सोबमोजिम बिक्री–वितरण नगरेको पाइएको निगमले जनाएको छ ।
“नेपाल आयल निगम लिमिटेडको तत्कालीन बिक्रेता विनियमावलीअनुसार तथा विद्यमान पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ (प्रथम संशोधन) परिच्छेद ३ को विनियम १९ तथा अनुसूची ७ बमोजिमको मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी नियुक्ति पाएका मट्टीतेल बिक्रेताको बिक्री स्थल हाल तोकिएको न्यूनतम पूर्वाधार एवं बिक्री स्थलको जानकारी समेत आम उपभोक्ताले सजिलोसँग पाउन नसक्ने अवस्थामा अव्यवस्थित तरिकाले बिक्री–वितरण गरिरहेको भन्ने पाइएको हुँदा त्यस्ता मट्टीतेल बिक्रेताले यो सूचना प्रकाशित भएको मितिले पैँतीस दिनभित्र तोकिएबमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।








