काठमाडौं– इन्डियन आयल कर्पोरेसनबाट नेपालका लागि बिक्री गरीने पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपालका लागि मूल्य घटाएर पठाएको हो।
अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९१५९ लिटर कच्चा तेलको मूल्य १०१ डलरमा कारोबार भइरहेको छ। गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रतिब्यारेल १२३ डलरभन्दा धेरै थियो। त्यो बेलाको भाउभन्दा अहिले करिब २२ डलर कम भइसकेको छ।
यसैअनुसार आइओसीले शनिबार नेपाललाई नयाँ मूल्य पठाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको छ।
भारतबाट मूल्य घटेर आए पनि नेपाली बजारमा घटाउनेबारे कुनै छलफल भएको छैन। निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको निगमको भनाइ छ।







