काठमाण्डौं – भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच’मा पर्ने पूर्वपट्टिको रिट्ठेपानी डाँडा काट्ने बाटो खुलेको छ। हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रूख काट्न सहमति भएको हो। कार्यविधिमा एउटा रूख काटेबापत १० वटा नयाँ बिरुवा रोपेर प्राधिकरणले वनलाई हस्तान्तरण गर्नुपर्ने छ।
विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने पूर्वपट्टिको डाँडा अग्लो हुँदा हवाई उडान र अवतरणमा समस्या आउने भएपछि कटानका लागि प्रक्रिया अघि बढाइएको थियो। विभागसँगको सम्झौतापछि डाँडासहित त्यहाँका ६ सय रूख काट्ने बाटो खुलेको हाे । डाँडाको १४ देखि ४० मिटर उचाइसम्म कटान गर्नुपर्ने उनले बताए। ४० रोपनी क्षेत्रफलको डाँडा र रूख कटान हुनेछ। विमानस्थलको पूर्वी सिमानाबाट यो डाँडा १.३५ किलोमिटर टाढा पर्छ।
विमानस्थलबाट करिब डेढ किलोमिटर परको बाच्छेबुडुवामा पोखरा महानगरले फोहोर विसर्जन गर्दै आएको ल्यान्डफिल साइट अन्यत्र सानुपर्ने भए पनि त्यसको काम अझै सुरु भएको छैन। ल्यान्डफिल साइटको फोहोरका कारण चरा आकर्षित हुँदा त्यसको जोखिम विमानस्थललाई हुने विज्ञहरूले औंल्याउँदै आएका छन्। ल्यान्डफिल साइट सार्ने जिम्मा पोखरा महानगरको हो।
गत जुलाई १० मा काम सक्नेगरी विमानस्थल निर्माण जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सिएएमसिईले काम थालेको थियो। यसबीच कोरोना भाइरस संक्रमण फैलियो। तर पनि चिनियाँ कम्पनीले कामलाई निरन्तरता दिएकाले विमानस्थल निर्माणले गति लिएको थियो।
कोरोनाको अप्ठेरोका बाबजुद निरन्तर खटिँदा ९३ प्रतिशत काम पूरा भएपछि गत चैत तेस्रो साता निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो। विमानस्थल अहिले पूर्ण रूपमा तयार भइसकेको छ।







