काठमाडौं – सेयर बजारमा सुधार आउने क्रम बिहीबार पनि जारी रहेको छ । बिहीबार नेप्से सूचकसँगै कारोबार रकममा पनि आकर्षक सुधार देखिएको छ । नेप्से सूचक ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा पुगेको छ । यस दिन २ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम विगत केही सातायताकै उच्च हो ।
सेन्सेटिभ इण्डेक्स १२.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अंक बढेको छ। यस दिन २२७ स्टकको ४७ हजार ३९२ पटकको कारोबारमा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको ७२ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब ४३ करोडको मात्र शेयर कारोबार भएको थियो।
यस दिन ३ कम्पनीको भाउ १०% ले बढेको छ । ९ करोड ९५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्टिलरी र एसियन लाइफ इन्सुरेन्स कम्पनी परेका छन् ।







