काठमाडौं –लगानीकर्ताहरुको आन्दोलन सफल भएसँगै लगानीकर्ताहरुमाझ उत्साह छाएको छ। फलस्वरुप साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्सेसँगै सबै उपसूचकमा हरियाली छाउँदा कारोबार रकम पनि दुई अर्ब नाघेको छ । लगानी उपसूचक ८.८७ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ८.३ प्रतिशत, व्यापार उपसूचक ७.७९ प्रतिशत र वित्त कम्पनी र हाइड्रोपावर उपसूचक समान ७.७७ प्रतिशतले बढेका छन् ।
आज दिनभर बजारमा कुल दुई अर्ब १९ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार हुँदा कुमारी बैंकको सर्वाधिक आठ करोड ६४ लाख र हिमालयन डिस्टिलरीको आठ करोड ३८ लाखको सेयर कारोबार भएको छ ।
आज बजारमा दिनभर १९५ कम्पनीको सेयर कारोबार भएकामा १९४ कम्पनीको सेयर मूल्य बढेको छ । आज कारोबारमा आएका मध्ये दुई दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । त्यसमध्ये २१ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
बजेटपछि सेयर बजार लगातार घट्दो क्रममा थियो । यही असार १ गते लगानीकर्ता तिलक कोइराला आमरण अनशन बसेपछि झनै घटेको थियो । गएको शुक्रबार नेपाल धितोपत्र बोर्डसँग १९ बुँदे सहमति गर्दै कोइरालाले अनशन तोडेका थिए । शुक्रबार नै दोहोरो अंकले बढेको नेप्से आज करिब १०० अंकको उच्च वृद्धि भएको छ ।







