काठमाडौं – नेप्से परिसूचक पछिल्लो १८ कारोबार दिनमा ३५४.७९ अंक घटेको थियो। लामो समयदेखि लगानीकर्ताहरुले माग गरिरहेको ४/१२ को नीति संशोधन हुने हल्लाले नेप्से बढेको हो।
नेप्से ३७.४९ अंक बढेर १९२२.३० विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक बढेको छ।
नेप्से बढेसँगै तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सामुदायिक लघुवित्त, रिभर फल्स पावर, शिवश्री हाइड्रोपावर र एनएमबि हाइडब्रिड फण्ड एल १ को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।







