नीतिमै चलाएर बजार घटाइएकाले अब सुधारका लागि पनि सोही नीतिमा परिमार्जन गर्नुपर्ने
काठमाण्डाैं – सोमबार सूचक ४९.३१ अंकले घटेर १८८४.८१ विन्दुमा अडिएको छ । १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजार बढेको देखिनसक्ने नियामक निकाय बजार घट्दा मुकदर्शक बनेकाे छ ।पूँजी बजारको सुधारका लागि लगानीकर्ताले दैनिक रुपमा प्रदर्शनी समेत गर्दै आएका छन्। अझ दबाब र्सिजना गर्नको लागि आज पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन। लगानीकर्ताले केन्द्रीय बैंक र धितोपत्र बोर्डमा पनि ज्ञापनपत्र बुझाइसकेका छन ।झण्डै एक हप्ता लामो आमरण अनशन बस्दा पनि सरकारी पक्षबाट लगानीकर्तालाई बार्तामा बोलाइएको छैन्। लगानीकर्ताले माग पुरा नभएसम्म लगानीकर्ताले आमरण अनशन र अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका छन्।
लगातार घटेको नेप्से १९ महिना यताकै न्यून बिन्दुमा झरेको हो । ०७७ मंसिरमा २०७३ को बुलिस मार्केटले कायम गरेको १८८१ अंक पार गरेको नेप्से पुनः सोही अंकको नजिक आएर बन्द भएको छ ।
करिब ३२ सय विन्दुबाट १० महिनाकै अवधिमा यति धेरै गिरावट आएको हो । यसअवधिमा सूचक १३ सय अंकभन्दा बढीले तल झरिसकेको छ । लगानीकर्ताहरुको सम्पति मापन गर्ने बजार पुँजीकरण पनि झन्डै १८ खर्ब रुपैयाँले तल झरेको छ । अर्थात् लगानीकर्ताको करिब १८ खर्ब रुपैयाँ पुँजी क्षयीकरण भएको हो ।
छोटो अवधिमा बजारमा भारी गिरावट आउँदा पनि सरकार र नियामक निकायहरु भने मौन बसेका छन् । नीतिमै चलाएर बजार घटाइएकाले अब सुधारका लागि पनि सोही नीतिमा परिमार्जन गर्नुपर्ने आम लगानीकर्ताहरुले बताइरहेका छन् ।
आज कारोबार भएकामध्ये आँधिखोला लघुवित्तको सेयरमूल्य १० प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा ओरियन्टल होटेलको सेयरमूल्य १.४१ प्रतिशत र गोर्खाज फाइनान्सको सेयरमूल्य ०.१३ प्रतिशतले बढेको छ ।
Comments







