काठमाण्डौं – दोर्दीखोला जलविद्युत आयोजना कम्पनीले प्राथमिक सेयर (आईपीओ) निस्कासन गरेको छ । कम्पनीले कुल २० लाख १९ हजार ८६९ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाएको हो । यसअघि आयोजना प्रभावितका लागि छुट्याइएकोमध्ये बिक्री नभएको २ लाख ९७ हजार ८४० कित्तासमेत थप गरी निस्कासन गर्न लागेको हो ।
न्यूनतम १० रअधिकतम १७ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ । कम्पनीको आईपीओमा जेड ३१ गतेसम्म आवेदन दिन सकिनेछ । आफ्नो खाता रहेको बैंक शाखा वा सीडीएससीको मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ । इक्राले एएए देखि डीसम्म रेटिङ दिदै आएको छ । बीबी माइनसले कम्पनी मध्यमस्तरको जनाउँछ । कम्पनीले लमजुङ जिल्लामा बग्ने दोर्दीखोलामा १२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत २ अर्ब ६९ करोडको अनुमान छ । प्रतिमेगावाट लागत २२ करोड ४५ लाख लाग्ने अनुमान छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ छ । आर्थिक वर्ष ०८०/८१ मा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४२ पैसा पुग्ने अनुमान छ । आयोजना ९८ प्रतिशत बढी सम्पन्न भइसकेको दावी गरिएको छ । आयोजनाको विद्युत नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको किर्तिपुर सब स्टेसनमा जोडिनेछ ।







