काठमाडौं – रिभर फल्स पावरको आइपिओ आज बाँडफाँट हुँदैछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार प्रभु क्यापिटलको कार्यलयमा आइपिओ बाँडफाँट हुने भएको हो।
रिभर फल्स पावर लिमिटेडले गत वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको थियो। कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर जारी गरेको थियो।
यसमध्ये कम्पनीले २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ। यीबाहेक बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी भएको हो।
रिभर फल्स कम्पनीले गत वैशाख २८ देखि प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो।
पछिल्लो तथ्यांकअनुसार कम्पनीको आइपिओको लागि करिब १८ लाख २० हजारभन्दा बढी आवेदकहरू छन्। उनीहरूबाट २ अर्ब रूपैयाँ बढीको २ करोड बढी कित्ता सेयरको लागि आवेदन परेको छ।
कम्पनीको आइपिओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँट हुने बताइएको छ। यसर्थ २ लाख ५३ हजार ८९० जनाले मात्रै १० कित्ता सेयर पाउने छन्।







