काठमाडौँ — दोस्रो चरणको लकडाउन खुलेयता विदेशमा अध्ययन गर्न जाने नेपालीको संख्या उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मुलुकबाट विदेशमा अध्ययन शीर्षकमा ४३ अर्ब ६७ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उक्त रकम १०६.३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको ९ महिनामा उक्त रकम करिब १४ प्रतिशत घटेको देखिएको थियो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशमा अध्ययन खर्च गत साउनमा १४५.४, भदौमा १५४.२ र असोजमा १०१.६ प्रतिशत बढेको थियो । त्यसपछि पनि बाहिरिने रकम बढिरहेको छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञामा विदेशमा आउजाउ सहज थिएन । विश्वविद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गरेका थिए । निषेधाज्ञा हटेपछि विश्वविद्यालयहरू खुले, आउजाउ पनि सहज भएको लगायत कारण विदेशमा अध्ययन गर्न जाने क्रम बढेको हो ।







