काठमाडौं – सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ ।
हिजो ३.६१ प्रतिशतको उच्च गिरावट भएको नेप्सेमा आज ०.३९ प्रतिशतको समान्य वृद्धि भएर बन्द भएको हो । बुधबार बजार परिसूचक नेप्से ८.९० अंकले वृद्धि भएर २२७४.४२ अंकमा बन्द भएको छ ।
नेप्सेमा समान्य वृद्धि हुँदा व्यापार, निर्जीवन बिमा, उत्पादनमूलक, जीवन बिमा र म्युचुअल फन्ड उपसूचकमा गिरावट भएको छ । अन्य सबै उपसूचक भने बढेका छन् ।
नेप्सेमा वृद्धि भए पनि कारोबार रकम भने एक अर्ब ३२ करोड ६३ लाखमा सीमित भएको छ । आज बजारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक पाँच करोड ३८ लाखको कारोबार हुँदा जाल्पा सामुदायिक लघुवित्तको चार करोड ९५ लाख र हिमालयन डिस्टिलरीको चार करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
आज दिनभर बजारमा १९१ कम्पनीको सेयर कारोबार भएकामा १२७ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घट्यो । १२ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
कारोबार भएका मध्ये राधि विद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक ६.०२ प्रतिशतले वृद्धि हुँदा सिनर्जी पावरको सेयरमूल्य ५.९१ प्रतिशत र वरुण पावरको सेयर मूल्य ५.७७ प्रतिशतले बढेको छ ।
सूर्योदय वोमी लघुवित्तको सेयमूल्य घटेर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य ४.३९ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४.२८ प्रतिशतले घटेको छ ।







