काठमाडौं – स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागिरहेको छ ।
बुधबार नेप्से ५६.०६ अंकले बढेर २३०६९.०७ विन्दुमा पुगेको छ । सोमबारदेखि नेप्से लगातार बढिरहेको हाे ।
२२ सयभन्दा तल झरेको नेप्से बढ्नुमा निर्वाचनलाई नै प्रमुख कारण मानिएको छ ।
बुधबार जलविद्युत समूहको सूचक करिब ५ प्रतिशतले बढेको छ । फाइनान्सको पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ । विकास बैंक ३.७५, ननलाइफ इन्सुरेन्स २.३९ र माइक्रो फाइनान्स समूहको सूचक ३.२६ प्रतिशतले बढेको छ ।
सबै समूहको सूचकमा हरियाली छाएको छ । ५३ लाख ३३ हजार १०९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँको कारोबार भएको छ ।
बुधबार ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, जाल्पा लघुवित्त, गणपति लघुवित्त र बरुण हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन ७ स्टकको मूल्य मात्र घटेको छ। जसमा अधिकांश ऋणपत्र र म्युचुअल फण्ड रहेका छन्।







