काठमाडौं – लगातार दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा सकारात्मक लय कायमै रहेको छ । गत बिहीबार १५ महिनायताकै न्यून बिन्दुमा झरेको नेप्से आइतबार दाेहोरो अंकले बढेको थियो भने आज पनि लगातार बढेको छ ।
आज १२.२७ अंकले बढेर २२६८.४८ अंकमा बन्द भएको छ । नेप्सेमा आज होटेल तथा पर्यटन, विकास बैंक, जीवन बिमा र म्युचुअल फन्ड उपसूचकमा गिरावट भएको छ भने अन्य सबै उपसूचक बढेको छ । यस्तै, ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.१२ अंकले बढेर ४३९.४७ अंकमा पुगेको छ ।
नेप्से केही सुधारोन्मुख देखिएको थियो, यद्यपि कारोबार रकम बढ्न नसक्दा डेढ अर्ब पनि पुग्न सकेन ।
आज दिनभर बजारमा १ अर्ब ३९ करोड ६ लाखको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सवार्धिक सात करोड ८४ लाखको कारोबार हँदा एनआईसी एसिया बैंकको ५ करोड ४९ लाख र हिमालयन डिस्टिलरीको ४ करोड ९६ लाखको कारोबार भएको छ ।
आज दिनभर बजारमा १९३ कम्पनीको सेयर कारोबार हुँदा ११४ कम्पनीको सेयरमूल्य बढेको छ भने ७१ कम्पनीको घटेको छ । त्यस्तै, ८ कम्पनीको भने स्थिर छ । कारोबार भएकामध्ये जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा मानुषी लघुवित्तको ७.७७ प्रतिशत र र उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य ६.२७ प्रतिशतले बढेको छ ।
यता हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ३.७८ प्रतिशतले गिरावट हुँदा स्वरोजगार लघुवित्तको ३.२४ प्रतिशत र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयरमूल्य ३.०४ प्रतिशतले घटेको छ ।







