काठमाडौं – जेठदेखि आइतवार पनि सार्वजनिक विदा हुने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवारदेखि शुक्रवारसम्म बजार सञ्चालन गर्ने भएको छ । नेप्सेको सञ्चालक समितिको वैशाख २१ गतेको बैठकले सरकारको निर्णय अनुसार कार्यालय समय सञ्चालन गर्ने र बजार सञ्चालन भने सोमवारदेखि शुक्रवारसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यो निर्णयलाई कार्यान्वयनका लागि नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई समेत निर्देशन दिईसकेको जानकारी दिएको छ ।
यस अघि नेप्सेले आइतवारदेखि बिहीवारसम्म पाँच कारोबार दिन बजार सञ्चालन गर्दै आएको थियो । सार्वजनिक विदाको विषय उठ्नु अघिनै सम्पूर्ण सरोकारवालाहरुले शुक्रवार पनि बजार सञ्चालनका लागि जोड दिदैं आएका थिए । धितोपत्र कारोबारको राफसाफ गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले समेत यस अघिनै शुक्रवार पनि कारोबार गर्नुपर्नेमा जोड दिदैं आएको थियो । शुक्रवारपछि लगातार दुई दिन सार्वजनिक विदा हुने भएकाले उक्त दिनको राफसाफ सोमवार हुने जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको छ ।







