काठमडौं- जेठबाट शुक्रबार पनि सेयर कारोबार गर्ने तयारी भएको छ । नेपाल सरकारले अगामी जेठदेखि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि अब सातामा कति दिन सेयर बजार खुल्छ भन्ने अन्योलता देखिएको थियो ।
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबार सेयर बजार खुलाउने गरी छलफल भइरहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए ।
“हामीले बोर्डसँग पनि छलफल गरिरहेका छौं । उहाँहरुले कारोबार गर्नुस् भनेर निर्देशन दिनुभयो भने हामी प्राविधिकरुपमा शुक्रबार बजार खुलाउन तयार छौं,” कार्कीले भने ।
यता बोर्डका प्रवक्ता निरज गिरी भने नेप्से आफैँले निर्णय गरेर शुक्रबार बजार सञ्चालन गर्न सक्ने बताउँछन् ।
“विनियमावलीले नै कति दिन र कति समय कारोबार खुलाउने भन्ने निर्णय गर्ने अधिकार नेप्सेलाई दिएको छ, नेप्सेले निर्णय गरेर बोर्डलाई जानकारी गराएर बोर्डलाई जानकरी दिएपछि शुक्रबार बजार सञ्चालन गर्न सक्छ,” धितोपत्र बोर्डका प्रवक्ता गिरीले भने ।
हाल आइतबारदेखि बिहीबारसम्म सातामा पाँचदिन दैनिक ४ घण्टा बजार सञ्चालन हुँदै आएको छ ।
तर, सरकारले आइतबार सार्वजनिक बिदा दिएसँगै सेयर बजारमा ४ दिन मात्रै कारोबार हुने कि शुक्रबार पनि कारोबार सञ्चालन गर्ने भन्ने विषयमा बहस चलिरहेको छ ।







