काठमाडौं- बैसाख ३
वसन्त याममा नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या सात सय ३८ जना पुगेको छ । २१ वटा हिमाल आरोहणका लागि ७० वटा देशका सात सय ३८ जना आरोहीले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
अनुमति लिनेमा पाँच सय ८३ जना पुरुष र एक सय ५५ जना महिला छन् । सात सय ३८ आरोही मध्ये ५५ जना नेपाली र ६ सय ८३ जना विदेशी नागरिक छन् । यो सङ्ख्या गएको वर्षभन्दा धेरै हो । गएको वर्षको वसन्त याममा नेपालका हिमाल आरोहणका लागि ६ सय ३५ जना विदेशी आरोहीले अनुमति लिएका थिए ।
यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या भने घटेको छ । गएको वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जना आरोहीले अनुमति लिएकोमा यो वर्ष दुई सय ६२ जनाले अनुमति लिएका छन् । सन् २०२० मा आरोहण स्थगित भएकोले त्यसबेला अनुमति लिएकाहरु पनि आराेहणका लागि आउँदा अघिल्लाे वर्ष सगरमाथामा केही बढी आरोही देखिएका थिए । यो वर्ष पनि अनुमति लिनेको सङ्ख्या उत्साहजनक नै रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।
आरोहीबाट सरकारले साढे ३९ करोड भन्दा धेरै रोयल्टी संकलन गरेको छ । अप्रिल महिनाभर पनि अनुमति लिने क्रम चलिरहने भएकोले यस वर्ष आरोहण अनुमति लिनेको संख्या अझै बढ्न सक्ने पर्यटन विभागले जनाएको छ । धौलागीरि, आमादब्लम लगायतका हिमालमा आरोहण पनि शुरु भइसकेको छ । सगरमाथामा दोस्रो शिविरसम्मको बाटो खुलाइसकेको छ भने त्यसभन्दा माथि बाटो बनाउने काम भइरहेको छ ।







