काठमाडौं,चैत्र २३, स्मार्ट अक्षर संम्वाददाताः
सेयर बजारमा गिरावट आउनेक्रम बुधबार पनि जारी रहेको छ । तथापि, बजार घट्नेदर भने केही खुम्चिएको छ । बुधबार नेप्से सूचक २३.३२ अंकले घटेर २४२८.७५ विन्दुमा अडिएको छ । १ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
बजार पछिल्लो समय निरन्तरजसो घट्दा सेयर भाउहरु निकै तल्लो विन्दुमा आइसकेको छ । पीइ रेसियो हेर्दा पनि भाउहरु सस्तो हुँदै गएको देखिन्छ । राम्रा फन्डामेन्टल बेस भएका कम्पनीहरुको भाउ पनि तुलनात्मकरुपमा हेर्दा निकै तल आइसकेको छ । तथापि, बजारमा अझै पनि खरिद माहोल बनिसकेको अवस्था छैन ।
यतिबेला बजार प्रभावित हुनुमा चैत मसान्तको प्रभावलाई प्रमुख कारण मानिएको छ । मसान्तमा बैंकको साँवा र ब्याज तिर्नुपर्ने तथा यही बेला राज्यलाई कर तिर्नुपर्ने भएकाले पनि सेलिङ प्रेसर देखिएको अनुमान गरिएको छ । कर तिर्नुपर्ने भएकाले पनि वित्तीय प्रणालीमा तरलता दबाबको थप सामाना गर्नुपर्ने हुन सक्छ ।
निर्वाचनको मिति नजिकिंदैछ । नयाँ बजेटको तयारी सुरु हुनै लाग्दा चालु आवको सरकारी खर्च पनि वृद्धि हुन थालेको छ । यी सन्दर्भहरुमा चैत मसान्तको प्रेसर साम्य भएपछि बजारले गति लिने विश्लेषकहरुको अनुमान रहेको छ ।
२२६ कम्पनीको ४३ लाख ७२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ३ वटा समूहको सूचकमा हरियाली देखिएको छ । ९ करोड ४१ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राष्ट्र उत्थान लघुवित्त र नबिल बैंक परेका छन् ।
Comments







