काठमाडौं,चैत्र १४ , स्मार्ट अक्षर संम्वाददाताः
नेप्से सूचक सोमबार २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा अडिएको छ । २ अर्ब ५४ करोडभन्दा बढीको कारोबार हुँदा २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । पुँजी बजारलाई गुड न्यूजले पनि छोएको छैन । वित्तीय प्रणालीमा तरलता दबाब र चर्को ब्याजदरका कारण जतिसुकै गुड न्यूज आउँदा पनि बजारले अपेक्षाअनुसार अग्रगति देखाउन नसकेको हो । बिमा कम्पनीहरुको पुँजी वृद्धिको खबरपछि पनि यस समूहको वृद्धि २ दिनभन्दा बढी टिक्न सकेन ।
यसको पछाडि तरलतामा परेको दबाबलाई नै प्रमुख कारण मानिएको छ । तथापि, बजारका जानकार र लगानीकर्ताहरुले भने यतिबेला बिमा कम्पनीहरुको सेयर अकुमुलेसन भइरहेको बताएका छन् । बजार बेस्सरी बढ्दो माहोल नदेखेपछि बाठा र अनुभवी लगानीकर्ताले विस्तारै अझ सकेसम्म गलाएर बिमाको सेयरहरु खरिद गर्ने रणनीति बनाइरहेका छन् ।
यस्तै, कतिपयले सेक्टर सिफ्ट गरेर पनि यी समूहहरुमा आउनुपर्ने भएकाले पनि अरु समूह बेच्ने अनि विशेषगरी बिमाका सेयरहरु किन्ने रणनीति बनाएको पाइन्छ, एक ब्रोकरले भने । केही दिनपछि बिमा समूहहरुमा फेरि सकारात्मक माहोल देखिन सक्ने धेरैको आँकलन रहेको छ ।
पुँजी वृद्धिको खबरलाई बजारले ढिलोचाँडो रेस्पोन्स गर्छ नै । किन भने हाम्रो पुँजी बजारको इतिहास हेर्ने हो भने सधैंजसो नै पुँजी वृद्धिको खबरपछि नै बजारले ‘‘टप’ लगाएको छ । हरेक बुल रनलाई उचाईमा पुृर्याउने हतियार पनि हकप्रद सेयर नै भएको छ । हकप्रद कति ठीक वा बेठीक भन्ने विश्लेषणको अर्को पाटो होला । तर बजारले चाहने चाहिँ हकप्रद वा समग्रमा पुँजी वृद्धि नै भएको अनुभवी लगानीकर्ताहरुको भनाई रहेको छ ।
अहिले तरलता अवस्था टाइट भएकाले मात्र बजारले तत्काल अपेक्षा अनुसार पोजेटिभ रेस्पोन्स देखाउन नसकेको विश्लेषणहरु भइरहेका छन् । यस्तै, बजार धेरै माथि जान नसकेको बेलामा धेरैमा त्रसित मानसिकता हावी भएको छ । सोही कारण थोरै नाफा हुने बित्तिकै सेयर बेचिहाल्ने रणनीति धेरैमा देखिन्छ । यस्तो बेला प्राविधिक विश्लेषणका लागि प्रयोग गरिने रेखाहरुलाई आधार बनाउनेहरु पनि उत्तिकै हावी भएका छन् । जसका कारण पनि बजार छिटोछिटो तलमाथि गरिएको आँकलन भइरहेको छ ।
हाम्रो बजार झन्डै ८ महिनायतादेखि करेक्सन फेजमा छ । यसमा बीचमा उतारचढावहरु भइरहे पनि यसअघि तय भएको ३२ सय विन्दुको उचाईलाई बजारले पार गर्न सकेको छैन । नयाँ बुल रन तयार हुनका लागि नेप्सेले यही ३२ सय विन्दुलाई पार गरेर माथि जानुपर्ने हुन्छ । स्थानीय निकाय निर्वाचन नजिकिंदैछ । चुनावमा खर्चको गतिले तेजी लिन्छ ।
तथापि, बजारले अहिलेसम्म यो न्यूजलाई पनि सकारात्मक रेन्सपोन्स दिन सकेको छैन । अहिले चैतको मध्य सुरु भइसकेको छ । अब विस्तारै सरकारी खर्चहरुमा तेजी आउनेछ । यस्तै, वैशाख लागेपछि तेस्रो त्रैमासको रिपोर्ट पनि आउन थाल्नेछ । यी माहोलहरुले बजारलाई विस्तारै सुधारको मार्गमा लैजाने अपेक्षा गर्न सकिन्छ ।
अाज सबै समूह राता भएका छन् । २३१ कम्पनीको ४९ लाख ५८ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । २२ करोड २४ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा जीवन विकास लघुवित्त अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः अपि पावर र हिमालयन डिष्टिलरी परेका छन् ।