काठमाडौं,चैत्र ८, स्मार्ट अक्षर संम्वाददाताः ग्रीन भेन्चर्स लिमिटेडले आज देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २८ लाख ७५ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।
कम्पनीले निष्काशन गरेको शेयरमा चैत ११ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे चैत २२ गतेसम्म म्याद थप हुनेछ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।







