काठमाडौं,चैत्र ७, स्मार्ट अक्षर संम्वाददाताः साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक १८.०७ अङ्कले बढेर २ हजार ६३४.६५ विन्दुमा पुगेको छ । गत सातको मंगलबारदेखि ओरालो लगिरहेको नेप्से, यस दिन बढेर बन्द भएको हो।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। आइतबार २ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३१ स्टकको ३७ हजार ९३९ पटकको कारोबारमा २ अर्ब ५९ करोड २७ लाख रुपैयाँ बराबरको ५१ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन पनि इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५१ रुपैयाँ ९० पैसा बढेर ५७१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने माउन्टेन हाइड्रो नेपाल र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त र अपि पावरको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
सोमबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २।९५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन्। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक करिब २ प्रतिशत घटेको छ।







