काठमाडौं – सरकारको कामकारबाहीलाई सहजीकरण गर्न भन्दै सत्तारूढ कांग्रेस र एमालेले तीन महिनाअघि केन्द्रमा गठन गरेको राजनीतिक संयन्त्रलाई प्रदेश र जिल्ला तहमा समेत विस्तार गरेका छन् । संविधान र कानुनले नै नचिन्ने यस्तो संयन्त्र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको अनुमतिमा सातै प्रदेश र विभिन्न जिल्लामा पनि गठन गरिएका हुन् । पालिका तहमा पनि द्विदलीय संयन्त्र गठन गर्ने कांग्रेस र एमालेको तयारी छ ।
कांग्रेस र एमालेको कात्तिक १५ मा भएको संयुक्त बैठकले सरकारका कामलाई प्रभावकारी बनाउन केन्द्रदेखि जिल्ला तहसम्म द्विदलीय संयन्त्र बनाउने निर्णय गरेको थियो ।
केन्द्रमा तत्कालै बनेको संयन्त्रमा ओली र देउवा आफैंले नेतृत्व गरेका छन् । केन्द्रको उक्त संयन्त्रले प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा तय गर्नेदेखि सरकारले ल्याएका ६ वटा अध्यादेशको गृहकार्यसम्मका काम गरेको थियो । प्रदेश र पालिकामा पनि त्यस्तै संयन्त्र बनाएर कांग्रेस र एमालेले समानान्तर शक्तिको अभ्यास थालेका छन् ।







