काठमाडौं – प्रतिपक्षी दलहरूले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।
सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत भएको नेताहरूले बताएका छन् । विपक्षी दलहरूले सरकार स्वेच्छाचारी बन्दै गएको आरोपसमेत लगाएका छन् ।
बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीका उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाउनुभएको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरूले पछिल्लो राजनीतिक अवस्था, संसद्मा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राख्नुभएको छ ।