काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १४४ रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यस क्षेत्रमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १४६ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ भने त्यस्तै डिजेल र मट्टीतेल १४७ रूपैयाँ पर्नेछ ।
त्यस्तै हवाइ इन्धन आन्तरिकमा निगमले प्रतिलिटर ६ रूपैयाँ घटाएको छ । अन्तर्राष्ट्रियमा भने प्रति किलोलिटर अमेरिकी डलर ४५ कम गरेको छ ।
एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।