काठमाडौँ – अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा सडक भासिएपछि सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको छ ।
सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। उनका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ।
निर्माण हुँदै गरेको सडक किनाराको रिटेनिंग वाल चर्केको छ भने विद्युत हाइटेन्सन लाइनको ठूलो पोल पनि सडकतर्फ ढलेको छ । प्रहरीले सडक चर्किएर साढे १ फिट भासिन पुगेको बताएको छ ।
यसैबीच सड्क भासिएर अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सड्कको मर्मत सुरू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए।
सोमवार साँझ ५ बजेतिर सडक भसिएर आवागमन अवरुद्ध भई यात्रुहरू अलपत्र परेपछि सोमवार राति साढे ११ बजेदेखि मर्मत सुरू गरिएको उनले बताए। मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्नेगरी काम भइरहेको प्रहरी उपरीक्षक फुयालले जानकारी दिए।