काठमाडौँ – अविरल वर्षाका कारण देशभर जनजीवन अस्तव्यस्त बनेको छ भने ठुलो जनधनको क्षति भएको छ । उपत्यका लगाएत बिभिन्न सदरमुकाम जोड्ने राजमार्गहरुमा आवतजावत ठप्प भएको छ । जल तथा मौसम विज्ञान विभागले पूर्वसूचना दिए पनि राज्यको तयारि कमजोर हुनाले जनधनको क्षति बढी हुन गएको हो ।
यसैगरी बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ भने ७२ जना बेपत्ता भएका छन्। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा ५ पाँचथरमा ५, भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन्। यस्तै धनकुटामा २ जना, रामेछाप, महोत्तरी र सुनसरीमा १/१ जनाको ज्यान गएको छ । पाँचथर, झापा, महोत्तरी, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, धादिङ र रूपन्देहीमा गरी ७२ जना बेपत्ता छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसममा क्रमिक सुधार आउने छ । आज मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बाँकी प्रदेशका पनि थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।