काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानी हुन बाँकी ४५ अर्ब रकम माग गर्दै ज्ञापन पत्र बुझाएको छ। महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले बुधवार कार्यबाहक प्रधानमन्त्री सिंहलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
राज्यबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ रहेको र त्यो उपलब्ध गराइदिन उनीहरूले ज्ञापनपत्रमार्फत माग गरेका हुन् । निर्माण व्यवसायीहरुले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएको आयोजना, स्थानीय अस्पताल लगायतका आयोजनाको भुक्तानी नपाएको बताउँदै आएका छन् । काम गरेअनुसारको रकम नपाउँदा निर्माण आपूर्ति चक्र नै अस्तव्यस्त भएको र निर्माण सम्बन्धी उद्योगहरु नै बन्द हुने अवस्था भएको व्यवसायीहरुले पटक–पटक गुनासो गर्दै आएका छन् ।
जवाफमा कार्यवाहक प्रधानमन्त्री सिंहले निर्माण उद्योगको समस्या समाधान गर्न ऐन तथा नियमावली संशोधनमा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ।