काठमाडौँ- संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए। प्रधानमन्त्री ओलीले २६ सेप्टेम्बरमा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले महासभालगायतका मञ्चहरूमा नेपालको संविधान, पञ्चशीलमा आधारित विदेश नीति, नेपालको सङ्क्रमणकालीन न्याय तथा जलवायु परिवर्तन, हिमालका मुद्दालाई प्राथमिकताका साथ राख्नुहुनेछ ।