काठमाडौँ – सरकारले गरेको ‘श्रमाधान रोजगार मेला’ मा विभिन्न रोजगारदाता प्रतिष्ठानबाट १४ हजारभन्दा धेरैलाई रोजगारी दिने प्रतिबद्धता आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १४ हजार ७८८ व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता आएको छ ।
मन्त्रालयले हिजो गरेको पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले सातै प्रदेशका रोजगारदाताबाट आएको प्रतिबद्धता अनुसार रोजगारी दिए वा नदिएको विषयमा मन्त्रालयले समिति बनाएर अध्ययन गर्ने तयारी गरेको जानकारी दिनुभयो । जेठ १७ गते विराटनगरबाट शुरु भएर जेठ ३० गते ललितपुरमा सकिएको मेलामा १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका थिए ।







