काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमाथिको छलफलमा विभिन्न सांसदले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा र वित्तीय जोखिमसमेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमन गर्न याे विधेयक ल्याउनुपरेको बताउनुभयो ।
नेपालको संविधान तथा प्रचलित कानुनमा उल्लेखित तीनै तहको सरकारको वित्तीय अधिकार क्षेत्रको व्यवस्थित कार्यन्वयन गर्न, प्रदेश सरकारले पनि प्रदेश बैंकहरू खोल्न शुरु गरिसकेका सन्दर्भमा विधेयकको आवश्यकता रहेकाे उहाँकाे भनाइ थियाे ।







