वासिंटन- टिकटकले हालै अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै मंगलबार एक अमेरिकी अदालतमा मुद्दा दर्ता गराएको छ । अमेरिकाले हालै टिकटकलाई गैरचिनियाँ कम्पनीलाई बेच्नुपर्ने नत्र अमेरिकामा बन्द गरिने कानुन ल्याएको थियो ।
सो कम्पनीले दायर गरेको मुद्दामा अमेरिकी नयाँ कानुन स्वतन्त्र अभिव्यक्तिमाथिको असाधारण घुसपैठ भएको र यसका प्रयोगकर्ता १७० मिलियन अमेरिकीलाई पनि असर गरेको जनाएको छ ।
गएको अप्रिल महिनामा राष्ट्रपति जो वाइडेनले राष्ट्रिय सुरक्षामा चासो देखाउँदै सोसम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए । टिकटकको प्यारेन्ट कम्पनी बाइट डान्सले टिकटक बेच्ने कुनै योजना नभएको यसअघि जनाएको थियो ।
डीसी सर्किट कोर्ट अफ अपिल्समा मंगलबार दर्ता गरिएको मुद्दामा टिकटकले यसको बिक्रीको आवश्यकता प्राविधिक, कानुनी र व्यापारिक हिसाबले पूरा हुन नसक्ने जनाउँदै कानुनले दिएको २७० दिनको म्याद पनि पर्याप्त नभएको जनाएको छ ।
टिकटकले आफ्नो व्यापार प्रष्ट भएको र सरकारले निजी रूपमा सिर्जना गरिएको स्पीच फोरमको स्वामित्वको बारेमा हुकुम जारी गर्न नसक्ने जनाएको छ । टिकटकले अमेरिकी चासो सम्बोधन गर्नका लागि आफूले दुई बिलियन डलरभन्दा बढी रकम खर्च गरेको समेत स्मरण गराएको छ ।