काठमाडौँ – २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको सम्झनामा भूकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतना फैलाउन भोलि बृहत फोटो प्रदर्शनी हुँदैछ । गोरखा भुकम्प तथा विभिन्न अरु जिल्लाहरु डोटी, बझाङ्ग, जाजरकोटमा गएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृष्यहरु समावेश गरी फोटो प्रदर्शनी गर्न लागिएको हो ।
‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनाैँ ’ भन्ने नारासहित खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारको संस्था ‘संवाहिका समाज नेपाल’को सह–आयोजनामा बृहत फोटो प्रदर्शनीको आयोजना गरिएको हो ।
खानी तथा भूगर्भ विभाग, लैनचौर परिसरमा प्रदर्शनी हुनेछ । २०७२ साल वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको थियो । यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठूलो भूकम्प मानिन्छ । झण्डै ९ हजार मानिसले यो भूकम्पमा ज्यान गुमाएका थिए । आठ लाखभन्दा धेरै भौतिक संरचनाको क्षति भएको थियो । भूकम्पमा २२ हजार भन्दा धेरै मानिस घाइते भएका थिए ।
विगत केही वर्षयता मुख्यगरी नेपालको पश्चिमी क्षेत्रमा पटक पटक भूकम्पको धक्का महसुस गरिएको छ । गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । जाजरकोट भूकम्पमा एक सय ५६ जनाले ज्यान गुमाएका छन् । जाजरकोट, रुकुम पश्चिमसहितका जिल्लामा अहिले पुनर्निर्माण तथा पुनर्स्थापनाको काम भइरहेको छ ।
भूकम्पको पूर्वानुमान गर्न सकिँदैन तर भूकम्पबाट हुने क्षतिलाई विगतबाट पाठ सिकेर न्यूनिकरणका उपायहरु अपनाउन सकिन्छ ।







