भक्तपुर – मध्यपुरथिमिस्थित बालकुमारी मन्दिर परिसरमा स्थानीय बासिन्दाले परम्परागतशैलीमा सिन्दुर जात्रा मनाएका छन् । हरेक वर्ष वैशाख १ र २ गते भक्तपुरमा नेवार समुदायले मनाउने बिस्का जात्राको रुपमा यो पर्व मनाउने गरिन्छ । पर्वले वसन्तको आगमनको संकेत पनि गर्दछ ।
बिस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा सिन्दुरेजात्रा मनाइएको छ ।बिस्केट (बिस्काः) जात्राको अवसर पारेर मनाइने ३२ टोलबाट देव देवताका खट बालकुमारी मन्दिरमा ल्याइन्छ । त्यहाँ सबै खट आइपुगेपछि सिन्दुरेजात्रा मनाइन्छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहिआएको छ ।
जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर, फूल छर्केर स्वागत गर्ने प्रचलन छ । जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकआपसमा सिन्दूर (अबिर) दलेर नगर परिक्रमा गर्ने परम्परा छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन छ ।







