नवलपरासी – नारायणगढ – बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्र भएको छ । यस खण्डको ११३ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्छ ।
नवलपुरको गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमा हाल २९ किलोमिटर कालोपत्र गर्ने काम सकिएको निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पाेरेसनका ठेक्का सहव्यवस्थापक राकेश झाले बताउनुभयो । झाका अनुसार आउँदो साउनमा दोस्रो पटक थपिएको म्याद सकिने नारायणगढ–बुटवल सडक विस्तार योजनाको अहिलेसम्म झण्डै आधा काम सकिएको छ ।
वि.सं.२०७५ माघमा सम्झौता भएरस्तरोन्नतिको काम थालिएको थियो । असारसम्ममा गैँडाकोटबाट दुम्किबाससम्म एकतर्फी सडक कालोपत्र गरिसक्ने लक्ष्य राखिएको सहव्यवस्थापक झाले बताउनुभयो । उहाँका अनुसार यातायात आवागमनलाई सहज पार्न पहिलो चरणमा एकतर्फी सडक कालोपत्र सक्ने योजनाअनुसार काम भइरहेको झाले बताउनुभयो ।
अहिले दैनिकजसो कालोपत्र गर्ने काम भएको र डण्डा चोरमारा खण्डमा एक, दुई दिनमा काम सकिने उहाँले बताउनुभयो । पूर्वी खण्डको कावासोती र डण्डा बजार क्षेत्रमा भने दुईतर्फी रुपमा कालोपत्र गर्ने काम भइरहेको झाले बताउनुभयो । उहाँका अनुसार बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अरु ठाउँमा चार लेनको सडक निर्माण हुनेछ ।







