दैलेख – दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम शुरु भएको छ । ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट ल्याएसँगै काम शुरु भएको छ । विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु गरिएको थियो । अब अन्तिम ड्रिलिङ सर्भेको काम शुरु भएको हो ।
त्यसका लागि नेपालगञ्ज नाका रुपैडियामा रोकिएका ठूला उपकरण ल्याउन थालिएको छ । ती उपकरण राख्ने फाउण्डेशन तयारी भइसकेको छ । मेशिन चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा ल्याइएको हो । शनिवार बेलुकी उपकरण बोकेको तीन वटा ट्रक दैलेख आएसँगै दैनिक तीन चरण समय मिलाएर काम शुरु गर्न लागिएको अन्वेषण परियोजनाले जनाएको छ ।
तत्कालका लागि चिनियाँ टोलीसँगै स्थानीय १२ जनालाई अन्वेषण परियोजनाले रोजगारी दिएको छ । काम अघि बढेपछि थप स्थानीयले रोजगारी पाउने परियोजनाले जनाएको छ ।
अब अन्तिम परिणाम सहितको अन्वेषण भएकाले दैलेखमा कति क्षमता अर्थात भण्डारणको पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्ने र गहिराइ पनि मापन हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताउनुभयो । ड्रिलिङ हुने ठाउँमा फाउण्डेशनलगायत सबै तयारी पूरा भएको र मेशिन आइपुगेपछि ड्रिलिङको काम शुरु हुने उहाँको भनाइ छ । उहाँका अनुसार ड्रिलिङ भएको चारदेखि पाँच महिनाभित्र अन्वेषणको काम सकिनेछ ।







