काठमाडौँ – काठमाडौँ र ल्हासाबीच सिधा बस सेवा पुनः सुचारु गर्न चीन सकारात्मक भएको छ ।
चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने, “नेपालको काठमाडौँ र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सिधा बस सेवा पुनः सुचारु गर्न दुवै पक्ष सकारात्मक भएका छन् ।”
परराष्ट्रमन्त्री श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन तयार रहेको पनि बताए ।
“यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको छु,” उनले भने ।
रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेको उनले जनाए ।
नेपाल–चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएका दाबी उनको थियो ।
भ्रमणका बेला बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे छलफल भएको उनले जनाए ।
“चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ,” परराष्ट्रमन्त्री श्रेष्ठले भने ।
नेपालको महत्त्वपूर्ण तथा विश्वसनीय विकास साझेदारको रूपमा रहेको चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको उनले बताए ।
नेपाल–चीनबीच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रहरूको नियमित बैठक बसेर आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएको उनले जनाए ।
सन् २०१२ मा नेपाल–चीनबीच हस्ताक्षर भएको सम्झौता अनुसार सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको दाबी उनको थियो ।
तरकारी तथा फलफूलहरूलगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको उनले बताए ।
“नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको छ,” परराष्ट्रमन्त्री श्रेष्ठले भने ।
नेपालको काठमाडौँ र पोखरा तथा चीनका विभिन्न सहरबीच थप उडानहरू सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएका छन् । यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने उनले जनाए ।