काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । जनता समाजवादी पार्टीबाट छुट्टिएर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले नेपाल समाज पार्टी गठन गरेका थिए । नेसपा अध्यक्ष महिन्द्र राय यादव समूहले शनिबार पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेसँगै पार्टी फुटेको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले बैठकपछि संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय भएको छ ।
पार्टी एकताका लागि वैचारिक एकरुपता र सङ्गठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र महासचिव रमेश यादव रहेका छन् ।
बैठकमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव गुरुङ सहभागी थिए भने समाजवादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव सहभागी थिए ।







