काठमाडौँ- संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामती सेवा विधेयक २०८० पेश भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सदन समक्ष विधेयक पेश गरेका हुन्।
नेकपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना पेश गरेका थिए। संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयताअनुरुप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । मुलुकको प्रशासनिक प्रणालीलाई व्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन विधेयक ल्याइएको मन्त्री जोशीले बताए।
विधेयकको व्यवस्थाअनुसार निजामती कर्मचारीले साठी वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछन् । विद्यमान निजामती ऐनमा कर्मचारीको उमेरहद ५८ वर्ष रहेको छ । निवृत्तिभरण पाउने अवस्था र उमेरको हद ५५ वर्ष पूरा भएका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन पाउनेछन् । यसरी स्वेच्छिक अवकाश लिने कर्मचारीको साठी वर्ष उमेर ननाघ्ने गरी बढीमा पाँच वर्षसम्म सेवा अवधि थप गरी निवृत्तिभरणका लागि जम्मा सेवा अवधि कायम गरिने विधेयकमा उल्लेख छ ।
यो विधेयक गत फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।







