काठमाडौँ – हरेक ५ वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व आज र भोलि ललितपुरमा हुँदैछ । फागुन शुक्ल तृतीयाको दिन शुरु हुने यो पर्व ‘दिपङ्कर पर्व’ नामले समेत प्रचलित छ । यो पर्वको अघिल्लो दिन आज बेलुकी ७ बजे विशाल दिपङ्कर बुद्ध प्रतिमाहरु पाटन दरबार क्षेत्रमा जम्मा गरिने आयोजक हिरण्यवर्ण महाविहारका अध्यक्ष पुष्पराज बज्राचार्यले बताउनु भयो ।
ललितपुर, काठमाण्डाै, भक्तपुर, कीर्तिपुर, चोभारका दिपङ्कर बुद्धको प्रतिमाहरुसहित, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा सबै जम्मा भएपछि बाजागाजासहित दिपङ्कर बुद्धका प्रतिमाहरु नचाइँदै नागबहालमा पुर्याइनेछ ।
बज्राचार्यका अनुसार यो वर्ष आयोजना हुने इतिल्हने सम्यक महादान पर्वमा १ सय ३२ वटा देवदेवीहरु सामेल हुनेछन् । भोलि पूजा, महाद्वीप प्रज्वलन, महायज्ञ, महादान हुनेछ । पर्वको तयारी स्वरुप दान दिने रोटी पकाउने तथा बासुकी नागराज र चम्पक नागराजको जीवन्यास पूजा र लिङ्गो ठड्याइने धार्मिक विधि भइसकेको छ ।
७ सय वर्षदेखि निरन्तर चलिरहेको यो परम्परा १८६१ सालसम्म हरेक वर्ष आयोजना हुँदै आएको थियो । त्यसपछि बजेट अभावका कारण हरेक पाँच वर्षमा आयोजना हुँदै आएको छ । यसपालीको आयोजना ४ सय ७३ औँ सम्यक आयोजना हो ।







