काठमाडौँ – राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङको सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना निकालेको थियो । त्यसअनुसार सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुुझेर संरचना हटाउन थालेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताउनुभयो ।
स्थानीयवासीले क्षतिपूर्तिको दररेटमा असहमति जनाएर क्षतिपूर्ति बुझ्न र संरचना नहटाउँदा तिप्ल्याङ बजारभित्र सडक विस्तार, नाली निर्माण हुनसकेको थिएन । प्राविधिक टोलीले संरचनाको पुनःमूल्याङ्कन गरेको क्षतिपूर्ति रकम बुझ्न तयार भइ संरचना हटाउन थालेको प्रमुख झाले जानकारी दिनुभयो ।
गलेश्वरबाट तातोपानी खण्डको धेरैजसो ठाउँमा सडक विस्तार र संरचना निर्माणको काम सकेर कालोपत्रको तयारी गरिए पनि तिप्ल्याङ खण्डमा झण्डै सात सय मिटर सडक विस्तार तथा नाली निर्माणको काम रोकिएको थियो । दायाँ र बायाँतर्फ नाली हुने सडक १२ दशमलव पाँच मिटर फराकिलो बनाउन संरचना हटाउन लागिएको आयोजना प्रमुख झाले बताउनुभयो ।
राहुुघाटबाट बेगखोला–तिप्ल्याङ–पोखरेबगर हुँदै भुरुङ तातोपानी खण्डमा पहिरो र नदी कटानको जोखिमयुक्त ठाउँबाहेक झण्डै १५ किलोमिटर दूरीमा कालोपत्र गर्न थालिएको छ । यो योजनाले म्याग्दीको गलेश्वरबाट मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दुरीको सडकको क्षेत्राधिकारमा पर्ने एक सय ७८ वटा घरगोठ र टहराको झण्डै आठ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गर्न दुई वर्षअघि प्रक्रिया थालेको थियो । म्याग्दीमा ८० र मुस्ताङका ९८ वटा घरटहरा र गोठ हटाउन क्षतिपूर्तिका लागि छनोट गरिएको थियो ।
बेनी–जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियरको नेतृत्वमा प्राविधिक टोलीले नापजाँच गरी क्षतिपूर्तिका लागि सिफारिस गरेको थियो । चीनको सिमाना कोरला नाका जोड्ने सडकलाई दुई लेनको बनाउन २०७४ सालमा शुरु भएको आयोजनाको अहिलेसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।







