पाल्पा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारमा संलग्न कोही कसैलाई छुट नहुने बताएका छन् । आफू कानुनमन्त्री भएकै समयमा मुलुकमा सुशासन कायम गराउने र कुनै पनि मान्छेलाई भ्रष्टाचारबाट उन्मुक्ति नदिने बताए ।
पाल्पाको तानसेनमा शनिबारदेखि सुरु तानसेन महोत्सव उद्घाटन गर्दै मन्त्री गुरुङले मुलुकमा सुशासन र आर्थिक पारदर्शिता कायम गर्न वडाध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री पदमा रहेकासम्मको सम्पत्ति छानबिन गराएरै छाड्ने उनले बताए । मन्त्री गुरुङले मुलुकमा भ्रष्टाचार कायम रहेसम्म आर्थिक सुशासन कायम गर्न नसकिने दाबी गरे । यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए ।
कोही नेता वा मन्त्री जनताका मालिक नभई सेवक भएकाले पहिला आफै बदलिएर देखाउनुपर्नेमा मन्त्री गुरुङको जोड थियो । ‘ज्वरो आउँदा एउटा नेपालीले सिटामोल खान नपाउने अवस्था छ,’ उनले भने, ‘तर सिंहदरबार छिर्नेहरु किर्ना र उपियाँजस्तै मोटाउने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’
जनताको अघि आफै पारदर्शी भएर देखाउनुपर्ने बेला आएको भन्दै मन्त्री गुरुङले सडकबाट आएकाले सडकमै जान तयार भएको बताए । मन्त्री गुरुङले स्वर्गीय कृष्णप्रसाद भटराईको आफू अनुयायी भएको बताउँदै भने, ‘म झुपडीमा जन्मेको मान्छे हुँ । पुनः सडकमै र झुपडीमै फर्किन तयार छु । म जस्ता नेता पहिला बदलिन जरुरी छ ।’
भ्रष्टाचार भयो भन्ने तर सुशासन कायम गर्न नदिने समस्या रहेको उनले बताए । राजनीति देश र जनताको लागि गर्नुपर्नेमा स्वयंका लागि गरेकाले नेपाली जनतालाई माथि उठाउन नसकिएको उनको भनाइ छ ।
नेताहरुको कर्मले गर्दा जनता दुःखी भएको उनले बताए । मन्त्री गुरुङले जनताका लागि राजनीति गर्ने कि आफैका लागि भन्ने अवस्था अहिले आएको बताए ।







