काठमाडौँ – सर्वाेच्च आदालतले हिमालयन एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन परामादेश जारी गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले हिमालयन एयरलान्इसलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाममा शुक्रबार परामादेश जारी गरेको हो ।
प्राधिकरणले २०७२ सालमा जारी गरेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण वायुयानहरूको ग्राउन्ड ह्यान्डलिङ तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२’ मा हप्तामा कम्तीमा ३५ नियमित उडान गर्ने कम्पनीले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था गरेको छ । सोही निर्देशिकाका आधारमा हिमालयन एयरलाइन्सले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्न लाग्दा प्राधिकरणले रोकेपछि त्यसविरुद्ध अदालत गएको थियो ।
एयरलाइन्सले ‘उपकरण’ खरिद गरेर पूर्वाधार निर्माण गरिरहेको थियो । त्यसबेला तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ गर्न नदिन प्राधिकरणलाई निर्देशन दिएका थिए । त्यसपछि प्राधिकरणले अर्काे निर्णय नभएसम्म नवीकरण नगर्ने उल्लेख गर्दै हिमालयन एयरलाइन्सलाई पत्र पठाएको थियो ।
त्यसपछि हिमालयन एयरलाइन्स २०७९ फागुन ४ गते नागरिक उड्डयन प्राधिकरणविरुद्ध सर्वाेच्च अदालत गएका थिए ।







