काठमाडौँ – नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खारेज गर्नेसम्मको चेतावनी दिएपछि एनसेल आजियटाले अन्ततः सेयर खरिद–बिक्रीसम्बन्धीका दस्ताबेजहरू पेस गरेको छ । मलेसियाको आजियटा समूहले एनसेल नेपालमा भएको आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट यूकेलाई बेचेको घोषणा गरेको झन्डै तीन सातापछि प्राधिकरणले कारोबारका दस्ताबेज प्राप्त गरेको पुष्टि गरेको छ ।
आजियटाका प्रतिनिधिले कानुनले तोकेबमोजिम प्राधिकरणबाट बारम्बार माग भई आएका सम्बन्धित दस्ताबेजहरू उपलब्ध गराइएको बताए । प्राधिकरणले भने सोमबार एनसेललाई सेयर खरिद–बिक्रीबारे तेस्रो पटक पत्र पठाउँदै दस्ताबेज उपलब्ध नगराए हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको थियो ।
दूरसञ्चार ऐन २०५३ को दफा २८ मा अनुमति प्राप्त व्यक्तिले ऐन वा नियममा उल्लिखित सर्तविपरीत कुनै काम गरेमा प्राधिकरणले निश्चित अवधि तोकी सुधारको मौका दिने र सुधार नगरेमा अनुमतिपत्र खारेज गर्न सक्ने व्यवस्था छ ।
आजियटा बर्हाद समूहले मंसिर १३ मा आफ्नो स्वामित्वको सेयर बिक्रीका लागि राखेको घोषणा गरेलगत्तै प्राधिकरणले मंसिर १४ मा खरिद–बिक्रीबारे वास्तविकता बुझ्न पत्र पठाएको थियो । त्यो बेला एनसेलले कागजपत्र संकलन हुनासाथ उपलब्ध गराउने भन्दै जवाफी पत्र पठाए पनि तीन सातासम्म प्राधिकरणले बाटो हेर्नुपरेको थियो । यसबीच एनसेल प्रकरणबारे अध्ययन गर्न बनेको उच्चस्तरीय छानबिन समितिसँगै विभिन्न संसदीय समितिहरूले नियामक प्राधिकरणलाई सेयर खरिद–बिक्री सम्झौतालगायत विषयका कागजपत्र उपलब्ध गराउन निर्देशन दिइरहेका छन् ।
समितिलाई प्राधिकरणले बुझाएको जवाफी पत्रमा नेपालका दूरसञ्चारसम्बन्धी ऐन, नियमावली र विनियमावलीले तोकेका सर्तहरू पूरा नगरेको पाइएकाले एनसेलको पछिल्लो कारोबार अवैधानिक ठहर्न सक्ने उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद–बिक्री) विनियमावली, २०७६ को व्यवस्थाबमोजिम सेयर खरिद–बिक्रीका लागि दुवै पक्षले निवेदन दिई प्राधिकरणको स्वीकृतिपश्चात् मात्र कारोबार गर्नुपर्ने देखिन्छ । यस व्यवस्थाको उल्लंघनले नेपालको दूरसञ्चार क्षेत्र जुनसुकै व्यक्ति/संस्था/समूहको हातमा जान सक्ने भएकाले यसको पूर्ण परिपालना नहुँदा राज्य/नियमनकारी निकायले उच्च जोखिम वहन गर्नुपर्ने अवस्था देखिन्छ ।’
बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले पनि सञ्चार मन्त्रालय र प्राधिकरण नेतृत्वलाई एनसेलको सेयर स्वामित्व बिक्रीबारे दस्ताबेज तथा यथार्थ जानकारीसहित आगामी बैठकमा बोलाउने निर्णय गरेको थियो । बैठकमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले एनसेल प्रकरणमा सम्पत्ति शुद्धीकरणसँगै प्रत्यक्ष वैदेशिक लगानी भए/नभएको लगायतका विषयमा विस्तृत छलफल र अनुसन्धान हुनुपर्ने धारणा राखेकी थिइन् ।
‘प्रधानमन्त्रीले राज्य व्यवस्था समितिमै एनसेल खरिदकर्तासँग बारम्बार भेट भएको बताउनुभएको छ, के छानबिन समितिले प्रधानमन्त्रीलाई बोलाएर बयान लिने ल्याकत राख्छ ?’ उनको प्रश्न थियो । समितिका सभापति भानुभक्त जोशीले एनसेलका विषयमा छलफल गर्ने निर्णय भएको बताए ।
नेपालमा दूरसञ्चार व्यवसायमा बढ्दो चुनौतीलाई कारण देखाउँदै आफूले सो निर्णय लिएको आजियटाको दाबी थियो । आजियटाले मंसिर १४ मा आफ्नो स्वामित्वको सेयर बेलायतको स्पेक्ट्रलाइट यूकेलाई ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गरेको सार्वजनिक गरेको थियो ।







