पाँचथर – एमालेले १८ दिनअघि बैतडीको झुलाघाटबाट सुरू गरेको समृद्धिका लागि संकल्प यात्रा आइतबार पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको छ । झुलाघाटमा जस्तै चिवाभन्ज्याङमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा झण्डोत्तोलन गरेर यात्राको समापन गरे ।
भारतको सिक्किमसँग सीमा जोडिने चिवाभन्ज्याङमा अध्यक्ष ओलीले १८ दिनको मध्यपहाडी लोकमार्गको यो यात्राले देशमा विद्यमान विभिन्न समस्या समाधान गर्न एमाले सक्षम छ भन्ने सन्देश प्रवाह गरेको दाबी गरे ।
उनले यात्राका समयमा संकलन भएका सुझाव र समस्याहरूलाई समीक्षा गर्दै समाधानका लागि एमालेले प्रयत्न गर्ने प्रतिबद्धता गरे । उनले वर्तमान सरकार शान्ति सुरक्षा र विकासका लागि असफल भइसकेको दाबी गर्दै अब एमाले देशको दरिलो शक्तिका रुपमा स्थापित हुने दाबी गरे ।
झुलाघाटदेखि निरन्तर अभियानको यात्रामा हिँडेका अध्यक्ष ओली १७ औं दिनमा पाँचथर सदरमुकाम फिदिम पुगेका थिए । शुक्रबार भने केही अस्वास्थताको कारण देखाउँदै ओली फिदिमबाट हेलिकोप्टरमा चिवाभञ्जाङ पुगेका थिए । अन्य पदाधिकारी भने सडक मार्ग हुँदै चिवाभन्ज्याङ पुगेका थिए ।
मंसिर १४ गते एमालेले अभियान थालेको थियो । मध्यपहाडी लोकमार्गले छुने २६ वटा जिल्लाहरुमा एमालेले ३० वटा ठूला सभा र एक सय भन्दा बढी कार्यक्रमहरुमार्फत् स्थानीयहरुसँग अन्तर्क्रिया गरेको थियो । यात्रामा अध्यक्ष ओली लगायत पार्टीका केन्द्रीय पदाधिकारीहरु सबै जना सबै स्थानमा पुगेका थिए ।








