भोजपुर – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारकाे काम कारबाहीबाट नेपाली कांग्रेसका नेताहरु सन्तुष्ट नरहेका दाबी गर्नुभएकाे छ ।
बिहीवार महाकाली—मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभामा उहाँले सत्तारुढ दलकै नेताहरु सरकारकाे कामप्रति असन्तुष्ट रहेका दाबी गर्नुभएकाे हाे ।
‘नेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर सबैमा चिन्ता छाएको छ ।’ उहाँले भन्नुभयाे ।
यस्तै, ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि शुरु गरिएको मिसन ८४ अभियान नेपाली नागरिकका लागि भएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा देशमा असाधारण विकास गरेकाे दाबी गर्नुभयाे ।
उहाँले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी, सुशासन, भेद्भाव र पक्षपात नगर्ने हुनुपर्ने बताउनु भयाे । गएकाे मङ्सिर १४ गतेदेखि शुरु भएको सङ्कल्प यात्राअन्तर्गत बुधवार भोजपुर आइपुगेको टोली भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागी भएर आज धनकुटा हुँदै तेह्रथुम पुग्ने कार्यक्रम रहेको छ ।







