काठमाडौँ- नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरीले १५ दिनदेखि एउटा न्यारोबडी विमान काठमाडौंमा ग्राउन्डेड हुँदा निगमले दैनिक कम्तीमा १ करोडका आधारमा झण्डै १५ करोड रुपैयाँ बराबरको व्यापार गुमाइसकेको छ । इजरायल–हमास युद्धका कारण निगमको यो जहाज मर्मत हुने अझै टुंगो नभइसकेको व्यवस्थापकहरूले बताएका छन् ।
निगमले आफ्ना दुइटा न्यारोबडी मर्मत गर्न इजरायलस्थित सैनिक र गैरसैनिक विमानहरू सम्बन्धित प्राविधिक सेवा दिने इजरायल एरोस्पेस इन्डिष्ट्रीज (आईएआई) सँग सम्झौता गरेकाले अहिले भइरहेको द्वन्द्वका कारण काठमाडौंमा ग्राउन्डेड न्यरोबडी विमान पुस २४ अघि मर्मत हुने सम्भावना न्यून रहेको एक इन्जिनियरले बताए ।
‘त्यहाँ मर्मत गर्न दिइएको जगेडा इन्जिन निगमले प्राप्त गर्ने मिति जनवरी ९ (२४ पुस) को खबर प्राप्त भएको छ,’ निगम स्रोतले भन्यो ।
निगमको वाणिज्य विभागका एक अधिकारीका अनुसार, एउटा न्यारोबडी विमान दैनिक औसत १० घण्टा उड्ने गरेको छ । निगमको आर्थिक तथ्यांकअनुसार, यसले प्रतिउडान १० हजार डलर (१३ लाख रुपैयाँ हाराहारी) आम्दानी गर्ने गर्छ । यस हिसाबले निगम यो जहाज ग्राउन्डेड हुँदा दैनिक कम्तीमा १ करोड रुपैयाँ नोक्सानी व्यहोर्दै आइरहेको छ ।
दैनिक व्यापारका अलावा निगमले यो जहाजको अर्कोपट्टी (बायाँ) इन्जिन इजरायलको त्यहीँ आईएआई कम्पनीमार्फत दैनिक कम्तीमा ३ लाख रुपैयाँ भाडामा ल्याएर राखेको छ । यो जहाज नउड्दा लाग्ने अर्को अतिरिक्त घाटा हो । इन्जिनको भाडाबापत निगमले तीन दिनमा ४५ लाख रुपैयाँ अतिरिक्त गुमाइसकेको छ ।
निगमका कार्यकारी अध्यक्षको सचिवालय स्रोतका अनुसार, यो विमान मंसिर १३ गते बैंककबाट फर्केपछि इन्जिनियरले तीन साइकल (उडान र अवतरण गरी ६ पटकमात्रै) प्रयोग गर्न मिल्ने तर यात्रु सेवा उडान गर्न नमिल्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड गरिदिएका थिए ।
काठमाडौंबाट १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्न निगमसँग चारवटा जहाज छन् । यीमध्ये एउटा बिग्रिएर थन्किएपछि निगमले न्यारोबडी पठाउने गन्तव्यमा घाटा व्यहोर्दै वाइडबडी विमान पठाइरहेको छ । त्यस्तै न्यरोबडी उडान गर्ने दिल्ली, मुम्बई, बैंलोर, हङकङ, बैंककका उडान हचुवामा रद्द गर्ने, दुइटा उडान मर्ज गर्ने, कतिपय यात्रुलाई विदेशी वायुसेवामा पठाउने, कतिपयलाई होटलमा राखेर अर्को दिन उडाउने गर्ने गरेको विमानस्थलस्थित यात्रुसेवा विभागका एक कर्मचारीले बताए ।
‘मुम्बई, बैंलोर जाने यात्रुलाई हाम्रै दिल्लीको उडानमा सिट खाली भएमा पठाइरहेका छौं,’ निगमका ती कर्मचारीले भने,‘हङकङ जानेलाई क्याथे लगायतका विदेशी जहाजबाट टिकट किनेर पठाउदै छौँ ।’







