काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा आठ सय १३ वटा अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताउनुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज मङ्गलवार रुकुम पश्चिम र जाजरकोटको सीमाना रिम्ना पुग्नुभएका ओलीले यस्तो बताउनुभएको हो । उहाँले ८ सय १३ वटा अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘स्वयंसेवक आएर ८ सय १३ वटा अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? हामीले यो सङ्ख्यालाई २ हजार पुर्याउने भनेका छौँ । सरकारसँग पैसा छ, हामीसँग पैसा छैन । विना पैसा हामीले ८ सय १३ वटा घर निर्माण गरेका छौँ ।’
अध्यक्ष ओलीले देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रूपमा पुग्ने पनि बताउनुभयो ।







