काठमाडौँ – निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।
आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न सरकारलाई छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोगका पदधिकारीले भेटेर उक्त परामर्श दिएका हुन् । आयोगको सुझावअनुसार प्रधानमन्त्री दाहालले निर्वाचनको मिति तोक्ने संकेत गरेका छन् ।
नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।
राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ। राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भइसकेको छ।







