काठमाडौँ- देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।
यस पर्वले धनी, गरिब, मधेशी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहतप्कामा लोकप्रियता हासिल गर्दै आएको छ ।
राजधानी काठमाडौँका कमलपोखरी विशेष रूपमा सजाइएको छ । रानीपोखरी निर्माणाधीन अवस्थामा रहेकाले कमलपोखरीमा नै रानीपोखरीको झल्को दिने गरी अस्थायी रूपमा गोपालेश्वर मन्दिर निर्माण गरिएको छ । त्यसै गरी पशुपतिस्थित गुह्येश्वरीमा समेत विगत वर्ष झैँ यो वर्ष पनि छठ पूजाका लागि विशेष तयारी गरिएको छ । त्यसै गरी राजधानीको नक्सालस्थित नागपोखरी, ललितपुरको सानेपा र विभिन्न कामले राजधानीमा बसोबास गर्दै आएका तराईबासी छठ पर्व मनाउन प्रायः आआफ्नो गाउँ नै जाने गर्दछन् भने केहीले राजधानीमा मनाउँदै आएका छन् ।
संस्कृतिविद् डा. रामदयाल राकेश कात्तिक महिनाको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिका साथ तयारी गरिने यस पर्वको शुभारम्भबारे विभिन्न कथा र किंवदन्ती रहेको बताउनुहुन्छ । उहाँले सत्ययुगमा सरयाती नामका राजाकी सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व प्रारम्भ गरेको उल्लेख गर्नुभयो । महाभारतको प्रसङ्गलाई उल्लेख गर्दै उहाँले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको बताउनुभयो । त्यसबेलादेखि नै छठ पर्वको सुरुवात भएको धेरैको विश्वास छ । त्यसै गरी सूर्यपुराणमा अत्रिमुनिकी अर्धाङ्गिनी सती अनुसुयाले छठ पर्व गरेको उल्लेख पाइन्छ । त्यस्तै कुष्ठरोगबाट पीडित कवि मयूर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ्य शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुवात भएको संस्कृतिविद् डा. राकेशको भनाइ छ ।
यो पर्वको पहिलो दिनलाई ‘नहान–खान’ भनिन्छ । यो दिन ब्रतालुहरू स्नान, ध्यान गरी खासगरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्ने गर्छन् । छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि विशेष शुद्धाशुद्धि अपनाइन्छ । यस दिनदेखि व्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्दछन् ।
दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ । यो दिन व्रतालुहरू दिनभरि उपबास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र भाँडामा सक्खर, दुध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खिरलाई व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्दछन् । यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिनलाई यस पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ । यो दिन बिहानैदेखि चामल र पिठोको ठेकुवा कसारलगायतका परिकार पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरीका मिठाई, उखु, अदुवा, नरिवल, मुला, सुठुनी, सुपारी, ल्वाङ, सुकुमेललगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दुधसहित व्रतालु परिवारका सदस्यसहित नजिकको जलाशयमा जान्छन् र अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालु घर फर्कन्छन् ।
कतिपय व्रतालु घर नफर्किएर पूजास्थलमा नै रातभरि जाग्राम बस्छन् । त्यहाँ कसै कसैले भाकल गरे अनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोसिया’ भनिन्छ । भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्वको महायात्रा यहीँ सम्पन्न भएको मानिन्छ ।







