काठमाडौँ- छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ। आज पञ्चमी तिथि [दोस्रो दिन] लाई ‘खरना’ [संरक्षण अर्थात् पापको क्षय] भनिन्छ ।
खरनाको दिन बर्तालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ।
व्रतको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर अपराह्न जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन्। यो विधिलाई ‘सझुका अरख’ भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। यसलाई ‘भोरका अरख’ भनिन्छ। यससँगै व्रत समाप्त हुन्छ।
छठमा श्रद्धा र निष्ठालाई महत्त्व दिइन्छ। अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठोबाटै तयार गरिन्छ। पर्वमा अर्घ्यदिने पवित्र जलाशयको सरसफाइ र श्रृंगारलाई पनि महत्त्व दिइन्छ।







